पशुपतिम क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन मन्त्री आलेको निर्देश

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्।

आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्।

उनले भने गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ। यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु। अतिक्रमण गर्न पाइँदैन ।यसैगरी मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएको बताए।

विगतका सदस्य सचिवले मनपरी ढंगबाट काम गरेको तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालन गर्न जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने उनले बताए।

पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो। यस्ता विकृति अन्त्य हुन्छ,’ उनले भने। पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्न पहल भइरहेको समेत उनले बताए।

उनले क्रियापुत्री बस्ने ठाउँमा तातो-चिसो पानीको व्यवस्थापन गर्ने बताए।यसैगरी मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए।

पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत उनले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए।