आगामी चुनावमा तालमेल गर्छौ : नेपाल
फागुन २७ काठमान्डौ – नेकपा एकीकृत समाजवादीले आउँदो वैशाख ३० मा हुने निर्वाचनमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने भएको निर्णय गरेको छ। काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै चुनावमा जाने निर्णय गरेको हो।
पार्टीले आगामी निर्वाचनमा आफ्नो शक्तिलाई संगठित र मजबुत बनाउँदै गठबन्धनमा रहेका सम्पूर्ण दलहरूसँग सहकार्य गरी लोकतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्याधिक स्थानमा निर्वाचित गराउन आग्रह गर्ने जनाएको हो।
त्यस्तै स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढंगले परिचालन गर्न पनि समाजवादीले प्रतिवद्धता जनाएको छ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राखेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्ष एमसिसी समक्ष कूटनीतिक प्रक्रियाअनुरुप दस्तावेज पठाई सहमति प्राप्त गर्न माग गरेको छ।
महाकाली नदीको प्राकृतिक बहावलाई परिवर्तन गरी दार्चुलाको सदरमुकामसमेतलाई क्षति पुग्नेगरी भारतीय पक्षले गरिरहेको निर्माण कार्यलाई तत्काल रोक्न पनि माग भएको छ।
साथै बैठकले रुस र युक्रेनका साथै अन्तर्राष्ट्रिय तहमा भइरहेको युद्धले विश्वलाई अशान्त, अमानवीय र युद्धग्रस्त बनाउने दुष्कार्यप्रति खेद व्यक्त गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभूति प्रकट गरेको छ।पटकपटकको पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिले यातायातलगायतका दैनिक उपभोग्य वस्तुका मूल्य आकाशिएकाले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनिरहेको अवस्थामा बैठकले सरकारसँग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलार्ई नियन्त्रण गर्न आग्रह गरेको छ।रासस