Gold
Bangad salyan

मन्त्री नपाएपछी कर्णालीका सांसद विष्ट एमाले प्रवेश

काठमाडौं – मन्त्री नपाएपछि कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गरेका छन्। आइतबार दिउँसो एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर उनले पार्टी प्रवेश गरेका हुन्।

विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका थिए। सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए।

सांसद पदबाट दिएको राजीनामा पत्रमा उनले शनिबार मात्र हस्ताक्षर गरेका थिए। यता माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलले उनलाई निष्कासन गरेको भन्दै विज्ञप्ति निकालेको छ। यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो।

निर्देशनपछि पनि माओवादीबाट अलग्गिएको घोषणा गरेपछि उनलाई सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो। विष्ट माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक समेत थिए। उनले पछिल्लो समय पार्टी नेतृत्वको गतिविधि अलोकतान्त्रिक भएको हुँदा पार्टी छाडेको बताएपनि आफू कर्णाली प्रदेशमा मन्त्री हुन नपाउँदा पार्टी छोडेको बुझीएको छ।

प्रतिगमनकारी एमालेविरुद्द सडक प्रदर्शन भईरहेको बेला पनि सांसद बिस्ट एमाले प्रवेश गर्ने चर्चा चलेको थियो। त्यो बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर सांसद बिस्टलाई माओवादी प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मा दिएका थिए।

त्यस्तै कर्णालीमा सांसद नभएकालाई मन्त्री बनाउनु संसद् र जनताको अपमान भएको भन्दै ठम्मर विष्टले विर्ध गर्दै आईरहेका थिए। कार्चेनलाई प्रचण्डको निर्देशनमा पार्टीको प्रदेश कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए।

गत माघ २३ गते लामालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरिएको थियो। गैर सांसदलाई मन्त्री बनाएको भन्दै लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले मन्त्री लामाविरुद्ध रिट दायर गरेकी छिन।