नेपाल प्रहरीका चार जना एसएसपी डिआइजी बढुवामा सिफारिसमा को को परे
चैत ३०
काठमाडौं -गृह मन्त्रालयले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब उपरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको सिफारिस गरेको हो। हालसालै तीन जना डिआइजीहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएपछि सिट खाली भएको थियो।
बिहीबार डिआइजी राजेशलाल कर्ण तीस वर्षे सेवाअवधिका कारण अवकाशमा जाने भएकाले खाली हुने उक्त सिटमा अर्का एक जना एसएसपीको बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसअघि वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक एआइजीमा बढुवा भएका कारण तीन वटा डिआइजी पद रिक्त रहेको थियो।
आचारसंहिता लागू भएको अवस्थामा बढुवा समितिले निर्वाचन आयोगको सहमति लिएर बढुवा सूची निकालेको पाईएको छ।बढुवामा समावेश भएका उम्मेदवारउपर उजुरबाजुरका लागि एक साताको समय दिइने छ। सो समयमा उजुरी वा गुनासो नआए उनीहरूलाई पदमा बहाली गरिने छ।


