Gold
Bangad salyan

जिल्लामा स्थानीय तहको सीट बाँफाँडप्रति माधव नेपालको असन्तुष्टि

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँफाँडप्रति असन्तुष्टि जनाएका छन।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि सोहि अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन।

नेता नेपालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको स्पष्ट पारेका हुन।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाई छ।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहबर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ ।

तर विभिन्न जिल्लाको रिपाेर्टहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन’ नेपालले भने ‘हाम्रो पार्टीको संगठन छ ।
त्यसो हुनाले देशैभरि हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका थियौँ–नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा त्यही पार्टी । नेपाली कांग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा त्यही पार्टीको उम्मेदवार उठाउनु पर्दछ ।

त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप समेत लगाए।

केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न समेत चेतावनी दिए। अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आग्रह गरे।