श्रीमानले श्रीमतीलाई मलद्वारमा लौरो छिराएर यातना दिएकि माझिको मृत्यु
जेठ १७
चितवन – आफ्नै श्रीमानले घरमा श्रीमतीलाई यातना दिदा एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका,१० की गीता माझीलाई गत बिहिबार श्रीमानले यातना दिएका थिए।
प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।
स्थानीयबासीले जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। सोमबार दिउँसो उनको शल्यक्रिया गरिएको थियो। तर राति १२ बजेतिर उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनिविरुद्द कसैले उजुर गरेको छैन। गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले बताए।
गीताका तीन छोरी छन्। एउटीको विवाह भइसकेको छ। दुई जना नवलपरासीस्थित मामाघरमा बस्दै आएका थिए। खैरहनीको माझी बस्तीमा बस्ने यो परिवार नजिकै रहेका खोलामा माछा मारेर जीवन चलाउने गर्दथ्यो।