नेतृत्वबीच हुने भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण नगर्न सचिवालयको आग्रह

असार १ काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माको भेट्लाई लिएर भएका समाचार सम्प्रेषणप्रती सचिवालयले ध्यानाकर्षण भएको बताएको छ।

अध्यक्ष प्रचण्डका स्वकीय रमेश मल्लले सामाजिक संजालमार्फत नेतृत्वबीच नियमित हुने भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण नगर्न समेत आग्रह गरेका छन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजिनामा दिन आग्रह गरेको भन्दै समाचार बाहिरीका छन। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्वकर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा समेत प्रश्न उठेको छ।

अर्थमन्त्री शर्माले २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका थिए।

अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै त्यो चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई भनेका थिए,‘उहाँहरू राजस्व विज्ञ हुनुहुन्छ। राजस्वका दरबारे मेरातर्फबाट उहाँहरूले केही फेरबदल गर्न सक्नुहुन्छ। उहाँहरूले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनुहोला।

त्यसपछि कथित विज्ञहरूबाट बजेटका राजस्व दरमा निर्ममतापूर्वक तलमाथि भएको थियो। विश्लेषणआँकलन गरेर बजेट तयार पारेका विज्ञ अधिकारीहरू ‘आयातित विज्ञ’का सामु निरीह र मौन रहनु परेको थियो।

उक्त समचारप्रति अर्थ मन्त्रालयले पनि ध्यानआकर्षण गरेको छ।