भक्तपुरको बाल सुधारगृहबाट भागेका १९४ जना सम्पर्कमा आए
भदौ ४
भक्तपुर -भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले भागेकामध्ये २७ जना सम्पर्कमा बाहिर रहेको बताए ।
बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका हुन् । एसपी केसीले बन्दीहरूले उपचार र औषधि दिने कुरामा प्रशासनले भेदभाव गरेको भन्दै आपत्ति जनाएको बताए ।
सुधारगृहमा के भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने उनको भनाई छ ।सुधारगृहबाट बाहिर निस्कने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । झडपका क्रममा १९ जना प्रहरी घाइते भएको एसपी केसीले बताए ।