लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर घर जलेर नष्ट
कार्तिक २८
काठमाडौं – सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका,१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी,१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो) मा पनि आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षति विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

