माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
मंसिर १
काठमान्डौ – माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत कार्तिक २२ मा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् ।
माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।
प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी हानेका थिए ।
बर्तौलामाथि आक्रमण गरेपछि उनीहरु एउटा घरमा पुगेर कपडा फेरेर नयाँ बसपार्क पुगेका थिए, जहाँबाट झापा हुँदै इलाम पुग्ने व्यवस्था टेकबहादुरले मिलाएका थिए ।
आक्रमणको योजना काठमाडौंको एक होटलमा बनाएको र यसबारे तीन जना नै जानकार रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका तीनै जना यसअघि पनि चोरी, डाँका, हातहतियार र ज्यानसम्बन्धी उद्योग जस्ता मुद्दामा सजाय काटेका व्यक्ति हुन् । उनिहरुले आक्रमण गर्ने योजना कहाँ बनाए भन्ने भने प्रहरीले खुलाउन बाकी छ।
प्रहरीका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

