रुकुम चौरजहारी

प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्छौ : महामन्त्री शर्मा

रुकुम आठ विसकोट

काठमान्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुन सम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन।

आज शनिवार पार्टीकाे बाग्मती प्रदेश सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन।

पार्टीकाे प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै यसमा संघीय सरकारले गमभिर भएर सोच्नु पर्ने समेत बताए ।

उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन नआए त्याे बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए ।

उनले भने, ‘संरचना बन्याे तर अधिकार नदिएकाे प्रदेशकाे गुनासाे छ । प्रदेशले मागेको के हो ? युरेनियम निकालेर ल्याइदिऊ भनेर प्रदेशले मागेको हो ? हिरा मोतीको खानी मागेको हो ? होइन । अन्तरिक्षयान बनाएर हाम्रो हातमा देउ भनेको हो ? होइन । प्रदेशले कानुन मागेको हो । अधिकार मागेको हो । त्यो दिन सकिन्छ कि सकिँदैन ? त्यो दिन नसकिने कारण के छ ? त्यसैले म मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु, उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो । प्रदेशलाई अधिकार चाँडो दिनेगरी निजामतीसम्बन्धी, लोकसेवासम्बन्धी, आर्थिकसम्बन्धी, प्रहरीसम्बन्धी कानुन दिनुपर्छ । कांग्रेस महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने त्यही बैठकबाट निर्णय गरेर हामी आफैँ सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ ।

महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्‍याउनेहरूलाई कारबाही गर्नुपर्ने बताए ।
युद्धमा ज्यान गुमाएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरे। पुष ७