बालकुमारी घटनाका पीडितले भेटे प्रधानमन्त्रीलाई दोषीलाई कारबाहि गर्ने प्रतिबद्धता
काठमान्डौ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका उनीहरुलाई आज भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन।
प्रधानमन्त्रीले त्यस घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका थिय।
पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रवार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताए। उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास समेत दिलाए।
भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन।
त्यस अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसदको पनि सहभागीता रहेको थियो ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले त्यस घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । यस्तै गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि गठित उच्चस्तरीय समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।
हिजो बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो । पुस १४