अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई गोलि हान्ने २० बर्षका युवक
असार ३१
पेन्सिलभानिया- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेका २० वर्षिय युवक थोमस माथ्यु क्रुक्सबारेमा थप जानकारीहरू सार्वजनिक भएका छन् ।
अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टीगेसन(एफबीआई)ले सुरुमा उनको नाम, उमेर र ठेगाना मात्र सार्वजनिक गरेको थियो ।
पेन्सिलभानियाको बेथेल पार्कका ती २० वर्षिय युवकले एआर स्टाइल राइफल प्रयोग गरेर पूर्वराष्टपति ट्रम्पलाई निशाना लगाएका थिए । गोलीले ट्रम्पको दायाँ कानमा छोएको थियो भने दर्शकदीर्घामा रहेका एकजनाको मृत्यु भएको थियो । थप दुईजना घाइते भएका छन् ।
उनी पनि सेक्रेट सर्भिस एजेन्टद्वारा मारिएका छन् । भर्खर किशोरावस्था पूरा गरेका ती युवक आफ्नो घर नजिकैको एक नसिङ होममा किचेन वर्करको काम गर्दै आएका थिए ।
उनका छिमेकीहरू गोलीकाण्डमा यी युवकको संलग्नताको कुरा सुनेर आश्चर्यमा परेका छन् । एफबीआईले हत्या प्रयासको छानबिन भइरहेको जनाएको छ ।
थोमसले आफ्नो परिचयपत्र नबोकेका कारण उनको पहिचान गर्न अनुसन्धाताले डीएनए टेस्ट गर्नुपरेको थियो । उनको घर कार्यक्रम भएको स्थानबाट ७० किमी टाढा छ ।
उनले बेथेल पार्क हाइस्कुलबाट २०२२ मा ग्राजुएसन गरेका थिए । गणित र विज्ञान विषयमा उत्कृष्टताका कारण उनले ५०० डलर नगद पुरस्कार पनि पाएको स्थानीय अखबारले जनाएका छन् ।
स्टेटको मतदाता रेकर्डमा उनी रिपब्लिकनको रूपमा दर्ता भएको जनाइएको छ । उनले डेमोक्रयाट्स निकट लिबरल क्याम्पेन ग्रुप एक्ट ब्लुलाई सन् २०२१मा १५ डलर चन्दा पनि दिएका थिए ।
अमेरिकी मिडिया रिपोर्टका अनुसार क्रुक्सले बन्दुक र विध्वंस सम्बन्धी सामग्रीबारे जानकारी दिने युट्युब च्यानल डिमोलिसन रान्चको टि–सर्ट लगाएका थिए । उक्त च्यानलका १० औं लाख सब्सक्राइबर्स छन् । जसले विभिन्न बन्दुक र विस्फोटक सामग्री सम्बन्धी भिडियो राखेको छ ।
एपीले सुरक्षा निकायलाई उदृत गर्दै जनाएअनुसार उनले प्रयोग गरेको हतियार उनका बाबुले खरिद गरेका हुन् ।
सुरक्षाअधिकारीले एपीलाई जनाएअनुसार उक्त हतियार क्रुक्सका बाबुले ६ महिना अघि मात्रै खरिद गरेका थिए । गोलीकाण्डपछि क्रुक्सको गाडीमा केही शंकास्पद डिभाइस पनि फेला परेको सीबीएस न्यूजले जनाएको छ ।
हत्या प्रयासको उद्देश्य के हो ?
एफबीआईका पिटसबर्ग स्पेसल एजेन्ट केभिन रोजेकले ती युवकको वास्तविक उद्देश्य के थियो भन्ने खुलिनसकेको बताएका छन् । उनको वास्तविक उद्देश्य के थियो भन्ने बारेमा जान्न सुरक्षा निकायले प्रयास गरिरहेको बताइएको छ ।
उनका बाबु माथ्यु क्रुक्सले सीएनएनसँगको कुराकानीमा के भइरहेको थियो भन्ने कुरा पत्ता लगाउन आफू लागि रहेको बताएका छन् । उनले आफ्नो छोराबारे बोल्नुअघि पहिला सुरक्षाकर्मीहरूसँग कुरा राख्न दिन सीएनएनलाई आग्रह गरेका थिए ।
उनका एक क्लासमेटले परीक्षामा राम्रो ग्रेड ल्याउने गरेको र इतिहासको बारेमा भावुक बन्ने गरेको बताएका छन् । उनी सधैँ राम्रो र शान्त रहेको उनले उल्लेख गरेका छन् । उनी पिटर्सबर्ग क्षेत्रको सुटिङ क्लब क्लेयरटोन स्पोर्टसमेन्स क्लबको सदस्य थिए । यद्यपि, क्लबका अध्यक्ष बिल सेलिटोले विस्तृत जानकारी दिन चाहेका छैनन् । बीबीसी