सुदन गुरुङको निर्देशनपछि जेन्जी आन्दोलनमा प्रहरीमाथी कुटपिट भएको पुष्टि
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङको भूमिका महत्वपूर्ण देखिएको निष्कर्ष निकालेको छ।
आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा गुरुङले प्रदर्शनकारी भिडको नेतृत्व लिएपछि अवस्था तनावपूर्ण बन्दै गएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार भदौ २३ गते काठमाडौंको एभरेस्ट होटल अगाडि प्रदर्शनकारीको संख्या करिब २० देखि २५ हजारसम्म पुगेको थियो। सोही समयमा गुरुङले भिडको नेतृत्व गरेको र त्यसपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न आक्रोशित रूपमा अघि बढेको आयोगको ठहर छ।
आयोगले प्रतिवेदनमा गुरुङको नेतृत्वपछि प्रदर्शनकारीले सुरक्षा ब्यारिकेड तोड्ने प्रयास गरेको, सुरक्षाकर्मीसँग झडप भएको र अवस्था हुलदङ्गामा परिणत भएको उल्लेख गरेको छ।
प्रतिवेदनमा भनिएको छ कि शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई केही व्यक्ति र समूहले आफ्नो प्रभावमा पारेर हिंसात्मक दिशातर्फ धकेलेको देखिन्छ।
आयोगका अनुसार गुरुङको नेतृत्वमा रहेको भिडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेको, सशस्त्र प्रहरीको वाटर क्याननमा तोडफोड गरेको तथा संसद् भवनअगाडि ध्वंसात्मक गतिविधि गरेको देखिएको छ।
सुरक्षा निकायका अधिकारीहरूको बयानलाई आधार मान्दै आयोगले गुरुङ नेतृत्वको भिडले सुरक्षा घेरा पार गर्ने प्रयास गरेपछि स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरेको छ। त्यसपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ।
आयोगले गुरुङले प्रदर्शनकारीलाई उत्तेजित बनाएको हो वा हिंसात्मक गतिविधिका लागि दुरुत्साहन गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
प्रतिवेदनमा आन्दोलनलाई हिंसात्मक हुन नदिन आवश्यक संयमता नअपनाएको र सार्वजनिक शान्ति सुव्यवस्थामा असर पर्ने गतिविधिमा उनको संलग्नता हुन सक्ने आधार देखिएको उल्लेख गरिएको छ।
आयोगले गुरुङसहित अन्य अभियन्ताहरूका सामाजिक सञ्जाल अभिव्यक्ति, प्रदर्शनअघिका गतिविधि तथा राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनलाई समेत अध्ययनको आधार बनाएको जनाएको छ।
आयोगको सिफारिसमा सुदन गुरुङको भूमिकाबारे सूक्ष्म अनुसन्धान गरी संलग्नता पुष्टि भए कानुनअनुसार कारबाही गर्न भनिएको छ। जेठ १४

