Gold
Bangad salyan

साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार,

बैशाख २१ ,काठमान्डौ – सरकारले साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार कायम गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको हो।

अब श्रमिकले ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत र ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन्। मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ पारिश्रमिक उल्लेख गरेको छ ।

त्यस्तै दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत र २ सय १६ रुपैयाँ महंगी भत्ता गरी ५ सय ७७ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउने व्यवस्था गरिएको हो ।
साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगानका श्रमिकका लागि लागू नहुने राजपत्रमा उल्लेख छ । श्रमिकले पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष र उपदानलगायतका अन्य सुविधा पनि पाउनेछन्।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन्। श्रम विभागले न्यूनतम पारिश्रकिक कार्यान्वयन भए नभएको अनुगमन समेत गर्ने छ ।