शिक्षकहरूले राजनीति गर्न पाउनुपर्छ: प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली कमजोर हुने बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको प्रचण्डले बताए।
शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने उनको भनाई थियो। नेपालमा जति पनि पार्टी छन्, सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन्।
सबैभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई नागरिकको बीचमा लैजाने शिक्षकहरू नै हुन्।
अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन। त्यससैले शिक्षक अझै सामाजिक रुपान्तरण र समाजसेवा राजनीतिकमा सक्रिय भएर लाग्नुपर्ने प्रचण्डको भनाई छ।

