सुनसरीको मतदान केन्द्रमा विष्फोट : बालिका घाईते पछि मतदान स्थगित
मङ्सिर ४, विराटनगर – सुनसरीको बर्जु गाउँपालिका,५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन। विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छिन। पहिचान खुल्न नसकेकी बालीकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
उक्त मतदान केन्द्र सुनसरीको क्षेत्र नम्बर ३ मा पर्छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छन्।

