आफ्नो श्रीमती जिस्क्याएको भन्दै भारतिय नागरिकको हत्या
माघ २१
गुल्मी – गुल्मीमा आफ्नो श्रीमती जिस्क्याएको भन्दै एक जना भारतीय नागरिकको हत्या भएको खुलेको छ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दम्पती दुवै जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको रानाभाटले बताए ।
बयानका क्रममा अभियुक्तहरुले गएकाे माघ १२ मा रक्सी खाएर भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।
दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

