Gold
Bangad salyan

जनतान्त्रिक तराई मुक्ति मोर्चाका ११ जनाले हतियार बुझाएर ,,

मंसिर,२६ सप्तरी – जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का नेताहरु स्थानीय प्रशासनलाई हतियार बुझाएर बुधबार सार्वजनिक भएका छन् ।राजनीतिक वार्ता समितिका पदाधिकारीको उपस्थितिमा राजविराजस्थित सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा हतियार बुझाउँदै उनीहरु सार्वजनिक भएका हुन् । क्रान्तिकारीका संयोजक उपेन्द्र यादव ‘अविनाश’ सहित ११ जना सार्वजनिक भएका हुन् ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइतले नेतृत्व गरेको सशस्त्र संगठन हो । तर सार्वजनिक भएका अविनाशले मोर्चाको १५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ११ जना गत जेठ २ गते नै बिद्रोह गरी छुट्टै मोर्चा बनाएको बताए ।वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे, सदस्य ताराकान्त चौधरी र सुरेश आले मगरको उपस्थितिमा अविनाशसहित ११ जना सार्वजनिक भएका हुन् ।

सार्वजनिक हुनेमा अविनाशसहित गौरीपुर ५ अर्नाहा नथुनी यादव ‘प्रदीप’, सप्तरीको डाक्नेश्वरी ७ बस्ने रामपुकार साह ‘रोशन’ सिरहाको गोलबजारका कमल भनिने योगेन्द्र यादव, सप्तरीको प्रसवनीका भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, सिरहाको मिर्चेया निवासी बद्री यादव, सप्तरीको रुपनी गाउँपालिका १ निवासी राहुल भनिने मो. नसीर, सप्तरीकै कञ्चनरुप नगरपालिका ११ बस्ने सञ्जय भनिने देवेन्द्र खड्गा, सिरहाको बिष्णुपुर गाउँपालिका २ का शंकर भनिने सञ्जय यादव, र फुलबाबु भनिने फुलकुमार यादव रहेका छन् ।

उनीहरुले सानो नालको कटुवा पेस्तोल १० थान, लामो नालको कटुवा पेस्तोल एक थान, रिभल्भर दुई थान, कटुवामा प्रयोग हुने नौ थान गोली, रिभल्भरमा लोड भएको एक थान गोली तथा डेटोनेटर एक थान हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यो समूहसँग ६ बुँदे सहमति भएको राजनीतिक वार्ता समितिका संयोजक पाण्डेले बताए । पाण्डेका अनुसार बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता, प्रहरी र सेनामा मधेसीको भर्नासहितका सहमति भएको छ ।सरकारले गत असोजमा असन्तुष्ट समूहहरुसँग वार्ता गर्न गठन गरेको राजनीतिक वार्ता समितिले शान्तिपूर्ण मूलधारमा ल्याएको समूह यो नै पहिलो हो ।