बेहुली भित्र्याउने उल्लासमा रहेका गाउँलेहरू सात शव बोकेर घाट जानुपर्ने भो

दाङ – प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा परेपछि पुरै गाँउनाइँ शोकमा डुबेको छ। नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का छन्।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

जिप सडक भन्दा १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बेहुली १९ वर्षीया रीमा जिसीको हात नै चुडेको छ। उनलाई उपचारलागि भैरहवा रिफर गरिएको छ। यस्तै बेहुलाका सहोदर भाइ १७ वर्षीय नरेश खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाको छ भने बेहुलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
बेहुली भित्र्याउने तयारीमा रहेको घरको उल्लास शोकमा परिणत भएपछि गाँउनै शोकमा डुबेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए। गाँउमा अक्सैको घरमा आगो समेत बलेको छैन उनले भने। गिरीका अनुसार अहिले पुरै गाँउनै ओखरपाटामै भेला भएका छन्। मृतक सबैको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने पोष्टमार्टमपछि शव बुझेर अन्त्येष्टि गरिने भएको छ।
