कोरोनाले अर्थतन्त्रमा असर पारेपछि अध्ययन गर्न काँग्रेसको समिति गठन ,

वैशाख २४ काठमान्डौ – प्रमुख विपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपाल्म पारेको विविध क्षेत्रको असरबारे अध्ययन र विश्लेषण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।

पार्टीको वैशाख १७ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा गठित समितिमा कांग्रेसका तर्फबाट पूर्व अर्थमन्त्री, अर्थराज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका तथा योजना आयोगका पूर्व उपाध्यक्ष सदस्य छन् ।

समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, उदयशमसेर राणा, पृथ्वीराज लिलेगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल र स्वर्णीम वाग्ले सदस्य छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने काँग्रेसले जनाएको छ ।

‘समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने छ विज्ञप्तिमा भनिएको छ।