Gold
Bangad salyan

राउटे युवतिको ज्यान जोखिममा राष्ट्रिय मानवअधिकार आयोग

जेठ २३, सुर्खेत – राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरीएपछि युवतीको ज्यान जोखिममा रहेको जनाएको छ ।

घटना बाहिरीपछि आयोगले गम्भीर ध्यानाकर्षण भएको र अनुसन्धान गरि दोषीलाई कडा कारबाहीको माग गरेको हो ।

घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ ।

स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न वाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ विज्ञप्तिमा भनिएको छ।

’ यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगको दाबी छ ।

आयोगले पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो । ती युवतीलाई दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका बिनोद पुनलाई प्रहरीले पक्राउ गरेको छ ।पुन होटल सञ्चालक हुन।