आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवसहितका नेता निर्वाचन आयोगमा
असार ४ काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीको वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेको छ।
अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् । सत्ता समीकरणका लागि जसपा अहिले दुई पक्षमा विभाजित भएको छ ।
पार्टीको निर्णयविपरित चल्दै गएपछि अध्यक्ष यादवले अर्का अध्यक्ष महन्त ठाकुर ,नेता राजेन्द्र महत्तो ,लक्ष्मनलाल कर्ण सहितका नेतालाई कारबाही गरेका थिए। लगतै महन्त ठाकुर समूहले उपेन्द्र यादवलाई कारबाही गरेको थियो।
पार्टीबाट निष्कासन गरेको भन्दै दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर निर्वाचन आयोगले दुवैले गरेको कारबाही अमान्य भन्दै फिर्ता गरेको थियो। अहिले आधिकारिक पार्टी कसको नाममा हुने भन्ने दुवैपक्षबीच लडाई चलिरहेको छ।
पार्टीको नीति विपरित महन्त ठाकुर समूहले १० जनालाई काम चलाउ प्रधानमन्त्री केपी ओली समूहको सरकारमा सहभागी गरेको छ। मन्त्री भएका १० जनालाई उपेन्द्र यादव समूहले स्पस्टिकरण समेत सोधेको छ।