Gold
Bangad salyan

सल्यान बनगाड कुपिण्डे ११ सिमखोलाको बाढीले किसानका खेत बारी बगरमा परिणत

असार ८ ,सल्यान – केहि दिन यता परेको अविरल वर्षाले सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ अन्तर्गत पर्ने सिमखोलामा आएको बाढीले किसानका खेत बारी बगाएर लगेको छ।

सिमखोलाको बाढीले किसानका करिब २५ रोपनी खेत बगाएर लगेको छ, भने नन्दे दमाई र टोप बहादुर विकको घर भास्सिएको छ। यस्तै सिमखोलाले ५ वटा घट्ट पनि बगाएको छ।

बाँकी रहेका खेतमा खोलाको बगर पसेपछि यो बर्ष किसानले धान लगाउन नपाउने भएका छन्। धान लगाउन राखेको धानको बिउ पनि सबै बगाएर लगेको छ । कोल गैराको कूलो बाढीले बगाएपछि कृषकले यो बर्ष धान लगाउन नमिल्ने स्थानीय शिक्षक सुरेन्द्र खड्काले बताए।

बनगाड कुपिण्डे नगरपालिका ११ धारापानी खोला हुँदै सुर्खेत गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने सिमखोला नजिकमा पर्ने खेतबारीनै नभएको उनले बताए। बाढीले सबै बगाएर लगेपछि खेत कँहानिर थिए भन्ने समेत पत्ता लगाउन सकिदैन सबै बगरमा परिणत भएको छ खडकाले भने।

यस्तै खनियाखर्क जलेखर्कका बस्ति जोखिममा छन्। खनियाखर्क हुँदै लछुखाले जोड्ने सडक उपभोक्ताले जताभावी उत्खनन गर्दा बस्ति जोखिममा परेका हुन्। सडकले रातमाटाका स्थानियाका घरहरु पनि जोखिममा परेका छन्।

यस्तै वालुवासंग्रहि देखि सिमलचौर आँपचौर हुँदै सल्यानको निगाल्चुला जोड्ने जताभावी सडक खन्दा किसानका खेत बारीनै पुरीएका छन्। यस्तै पाँचारेमा जता भावी सडक उत्खननले किसानका बारी पहिरोले पुरेको छ भने कति घर जोखिममा छन्।किसानले तत्काल स्थानीय सरकारको ध्यानकर्षण समेत गरेका हुन्।