राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान
असार १६ ,काठमाण्डाै- नेपालको फिरन्ते जाती राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुर्खेतले बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरेको जनाएको हो ।न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।
गुर्भाकोट नगरपालिका,९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। राउटे युवतीमाथि यौन दुर्व्यबहार गर्दै उनीहरुले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरेका थिए।
लगतै उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो। मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो।
राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओले चौतर्फी आलोचना भएको थियो। गुर्भाकोट नगरपालिका ११ आँपसोती नजिक भेरिकिनारा बस्दै गर्दा दुवै राऊते युवतीमाथि यौनहिंसा भएको थियो। अहिले राउटेहरु सल्यानको कालिमाटीमा बसाई सराई गरेका छन्।

