सेनाका ३०० थान हतियार प्रहरीलाई हस्तान्तरण
असार २१ काठमाडौं- नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएल आरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन्।
मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो ।
उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी सेनाले प्रहरीलाई तालिमसमेत प्रदान गर्ने भएको छ । सेनाले बाँकी हतियार आगामी वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ । कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दिपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।
मुलुकका रक्षा र सुरक्षाको धरोहरका रुपमा रहेका ती दुई निकायका बीच शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा कतिपय समयमा संयुक्त परिचालन समेत हूँदै आएको छ ।
शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने उक्त हतियारले प्रहरीको क्षमता अभिवृद्धि गर्नेछ । प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६०० थान इन्सास हतियार उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

