नगरपालिकाले ६० लाख रुपैयाँ खर्च गरेर बनायो सुँगुरको मुर्ति
साउन २३ ,काठमाडौं- पछिल्लो समय स्थानीय देखि नगरपालिकामा विभिन्न खाले मुर्ति ,टावर बनाउने होड बाजी चलेकै बेला उदयपुरमा भने सुँगुरको मुर्ति बनाईएको छ।
उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । नगरपालिका ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो ।
नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार उक्त क्षेत्र नजिकमा झरना ,मन्दिर पनि छ। बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरिएको थियो।
अघिल्लो वर्षबाट सुरु गरिएको काम अब अन्तिम चरणमा पुगेको पनि उनले बताए। थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो ।
सुँगुरको प्रतिमा बनाईएको ठाँउबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बराहको प्रतिमा बनाएको थापाको भनाइ छ ।