जनकपुरमा हिन्दु मुस्लिम समुदायबीच झडप भोलि सम्म निषेधाज्ञा

जनकपुरधाम -जनकपुरको देवपुरा रुपैठामा स्थानीय र प्रहरीबीच झडप भएको छ। धार्मिक सद्भाव भड्किएर जनकपुरधाम उप-महानगरपालिका २० देवपुरामा झडप भएको प्रहरीले जनाएको छ।

देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा द्दोश्रो पक्षले गरेको अतिक्रमणलाई लिएर झडप भएको हो। झपमा स्थानीयली प्रहरीमाथि ढुंगा मुढा गरेका छन्।

छठ पर्वमा धार्मिक सद्भाव बिग्रिने किसिमले भएको दुई पक्षीय विवादको क्रममा शनिबार केही व्यक्तिको समूहले मोटरसाइकल जुलुशसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

हस्तक्षेपको क्रममा स्थानीय र प्रहरीबीच दोहोरो ढुङ्गा हानाहान भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिए। स्थानीयको ढुङ्गा लागेर दुई प्रहरी जवान र एक स्थानीय घाइते भएका छन।

हिन्दु मुस्लिम समुदायबीच दुई पक्षीय झडपको स्थितिलाई नियन्त्रणमा लिन जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।