तिन दशकदेखि माओवादी अध्यक्षमा प्रचण्ड
काठमाडौँ- नेकपा माओवादी केन्द्रको सम्पन्न ८ औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।
सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । हललाई सम्बोधन गर्दै दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।
नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।
पदाधिकारीका अरु पदमा भने टुंगो लागेको छैन । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । प्रचण्ड तीसौ बर्षदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् ।

