आसमानमुनि छिरेर ओभानो बन्ने प्रजातन्त्र हुँदैन : पूर्वराजा शाह
फागुन ७, काठमान्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्नुपर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले पछिल्ला दशकमा राष्ट्रिय एकता संकटमा परेको र जनतामा निराशा छाएको भन्दै नेतृत्व र प्रणाली परिवर्तनका लागि सबै नेपालीले समीक्षा गर्ने बेला आइसकेको बताएका छन।
उनले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएको र अब पनि साथमा रहने बताएका छन् । पूर्वराजा शाहले प्रणालीमाथि प्रश्न उठाउँदै सांकेतिक रुपमा राष्ट्रियता र राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्रमा जोड दिएका छन् ।
प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ,।
उनले भनेका छन्, ‘यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ ।
राष्ट्रियता बिनाको प्रजातन्त्र जनताको सुरक्षाको कवच र न्यायको छाता बन्न नसक्ने उनको भनाइ छ । प्रजातन्त्र आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गर्दै शाहले तर नेपालमा पछिल्लो समय बढ्दो विदेशी प्रभावमा प्रजातन्त्र चलेको संकेत गरेका छन् ।
अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।
उनले भनेका छन आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन।अहिले प्रजातन्त्र ट्रयाकमा नरहेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने शाहको जोड छ ।
अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्याई रहेको छ, विचारणीय प्रश्न छ,’ उनले ध्यानाकर्षण गराएका छन् ।