आचारसंहिता उल्लङ्घन गर्दै एमालेका उमेद्वार भोट माग्न हेलिकप्टर चढेर गूर्जामा
बैशाख २७
बेनी – नेकपा एमालेका उमेद्वार भोट माग्न हेलिकप्टर चढेर म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जामा पुगेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टरबाट गूर्जा पुगेर फर्किएका हुन्। आचारसंहिता उल्लङ्घन विपरित मतदातालाई प्रभावित बनाउन उनीहरु हेलिकप्टर चढेर पुगेका हुन्।
धवलागिरी गाउँपालिका,७ ताकमबाट एयर फिष्टेलको हेलिकप्टर चढेर अपराहन्न करिब चार बजे गूर्जा पुगेका उनीहरु करिब एक घण्टा मतदातासंग भेट गरेर फर्कीएका हुन्। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नेकपा एमालेका जिल्ला सदस्य इश्वर सुवेदी, एमाले गाउँपालिका कमिटीका उपसचिव विजय घर्ती, नेता दलमान पुन र गूर्जा घर भई हाल पोखरा बस्दै आएका सुवास छन्त्याल गएका थिए।
एक वटा मात्र मतदान स्थल र केन्द्र रहेको गूर्जामा ७६४ जना मतदाता छन्। धवलागिरी गाउँपालिकाका निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार हेलिकप्टर प्रयोगका लागि कोही पनि उम्मेदवारले अनुमति नलिएको बताए। चुनाव प्रचारमा उम्मेदवारले हेलिकप्टर प्रयोग गर्न पाउने नपाउने भन्ने आचार संहितामा उल्लेख छैन,’ उनले भने ‘उम्मेदवारले पेश गर्ने खर्चको सिमाको विषय हो। उम्मेदवारले हेलिकप्टर प्रयोग गरेको हामीलाई जानकारी छैन्।