एमाले अध्यक्ष ओलीको जन्मस्थान गाँउपालिकामा कांग्रेसले माओवादी विजयी

तेह्रथुम- पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।

पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् । यहाँ नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । पाहिमले थपलियालाई ६ सय ९१ मत मतान्तरले जितेका हुन् ।

यस्तै उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् ।निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् ।

कन्दङवाले ४ हजार ७० मत प्राप्त गरेकी छन्।२०७४ को निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएको क्षेत्रमा अहिले कांग्रेस र माओवादी केन्द्रले जित गरेको हो।