पहिलोपटक वादी समुदायबाट मेयर बने पुष्प वादी जसले झोला छुँदा कुटाई खाएका थिए
जेठ ७ , रुकुम पश्चिम – रुकुम पश्चिम् चौरजाहारी नगरपालिकाको नगर प्रमुखमा पुष्प वादी निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वादी समुदायबाट स्थानीय सरकारको पहिलो प्रमुख भएका हुन् ।
पुष्पले ६ हजार ८८२ मत ल्याएर चौरजहारी नगरपालिकाको प्रमुख भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गरेका थिए । उमेरले ४७ वर्ष पुगेका उनको पुख्र्यौली पेशा माछा मार्नु हो । घर छेउको जहारीखोलाका माछा मारेर जीविका चलाउँदै आएका वादीसँग मादल बनाउने, सुल्पा बनाउने सीप पनि छ ।
माओवादीको वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका वादी सरल जीवनशैली अपनाउने नेताका रुपमा चिनिन्छन् । वादीले आफूले चुनाव जित्नु भनेको आम उत्पीडित समुदायप्रतिको सम्मान र संघीयता, समावेशिताप्रतिको वफादारिता भएको उनी बताउँछन् । नगरप्रमुखमा निर्वाचित भएका उनले आफ्नो धरातल नबिर्सिने बताए ।
२०५७ सालतिर माओवादीका पूर्णकालिन कार्यकर्ता बनेका वादीले दिनभर पार्टीको कार्यक्रममा हिँडेको र राती घर फर्किएर माछा मारेर जीविकोपार्जन गरेको स्मरण गरे । रातभर आफूले मारेका माछा बिहान परिवारका सदस्यले बेच्ने गरेका र त्यसैबाट परिवारको खर्च चलेको उनको भनाइ छ ।
२०५७ सालमा दलित मोर्चाको जिल्ला अध्यक्ष भए । त्यतिबेलै पार्टीको एरिया समिति सदस्य भएका वादी २०६१ सालमा मोर्चाको केन्द्रीय सदस्य भए । ०६२/०६३ मा मोर्चाको प्रदेश इन्चार्जको समेत भएका थिए ।
शान्ति स्थापनाछि सल्यान, रुकुम इन्चार्ज, मोर्चाको सचिवालय सदस्य, पार्टीको राज्य समिति सदस्य भएर समेत काम गरेका पुष्प ‘वादी समुदाय उत्थान विकास समिति’को उपाध्यक्ष भएर ४ वर्ष काम गरे ।
नगरप्रमुख वादीले पिछडिएको समुदायको प्रतिनिधित्व सरकारमा हुनु उत्पीडित वर्गको जित भएको बताए । उनले भने ‘समृद्ध र नमूना नगरपालिका बनाउने योजना छ । सार्वजनिक गरेका चुनावी प्रतिवद्धतामै टेकेर काम गर्नेछु ।
नेकपा माओवादी केन्द्र चौरजहारीले १७ बुँदे चुनावी प्रतिवद्धता बनाएकाले तिनै प्रतिवद्धता आफूले काम गर्ने आधार रहेको उनले उल्लेख गरे । उक्त प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि र सेवाको विषयमा योजना बनाइएको छ ।
पाँच वर्षसम्म चौरजहारीका नागरिकहरुका आधारभूत आवश्यकता परिपूर्तिका गर्नका लागी आवश्यक नीति र कार्यक्रम तय गरिएको नगरप्रमुख पुष्पले बताए । आत्मनिर्भर, एकतावद्ध र समृद्ध नगर निर्माण, चौरजहारी नगरवासीको पहिचान’ भन्ने नारालाई सार्थक बनाउन प्रतिबद्ध रहेको जानकारी दिँदै नगर प्रमुख वादीले पाँच वर्षे स्थानीय सरकारले खडा गरेको जगमा टेकेर नगरको समृद्धिका लागि काम गर्ने उल्लेख गरे ।
उत्पीडित जातीको मुक्तिका खातिर दश वर्ष गौरवपूर्ण जनयुद्ध गरेको गौरवशाली पार्टीको एक सिपाही हुनुका नाताले आफू अन्यायविरुद्ध र समानताको लागि सशक्त भएर लागि पर्ने उनले बताए ।
विगतको सामन्ती सत्ताले धकेलेर पिँधमा पु¥याएको एउटा जाति, समुदायबाट आएको व्यक्ति स्थानीय सत्ताको प्रमुख हुुनु चुनौतीको पहाड बोक्नु त हो नै नमूना काम गरेर देखाउने अवसर समेत भएको उनको बुझाइ छ ।
लामो समयदेखिको शोषण, दमन, उत्पीडनबाट जनतालाई मुक्ति गर्न थालिएको जनयुद्धले उत्पादन गरेको नेता हुनुको नाताले ग्रामीण जनताको अवस्था बदल्न आफू लागिपर्ने उनको भनाइ छ । ‘नगरप्रमुख पदमा गरिब वादीको छोरो पुग्नु मेरो व्यक्तिगत चाहना कमै थियो होला’ पुष्पले भने, ‘पार्टीको चाहना र निर्णय बढी हो ।
तत्कालिन समाजमा हुने विभेदले आफूमाथि विद्रोही चेत पलाएको पुष्पले बताए । उनले विद्यालयमा गएको समयमा डेस्कमा राखिएको झोला छोइएपछि रोटी छोइदियो भनेर साथीहरुबाट कुटाइ खाएको, पछि उल्टै शिक्षकबाट पनि कुटाइ खाएपछि चेत बढेको बताए ।
रुकुम जिल्लाले वर्गविहीन समाजको लागि नमूना अभ्यास गरिरहेको उनले उल्लेख गरे । विभिन्न लाभका अवसरहरु समानुपातिक वितरण गर्नेदेखि महत्वपूर्ण जिम्मेवारीमा समेत दलित, उत्पीडित जाति समुदायको निर्णायक सहभागिता भइरहेकाले त्यसको यसको पछिल्लो उदाहरण आफू पनि भएको पुष्पले बताए ।
कक्षा ४ मा पडदै गर्दा आफ्नो साथी भनेर झोला छुँदा समेत उनले कुटाई खाएका थिए। तल्लो जातकोले झोला छोएको भन्दै उनले कुटाई खाएको समेत पुष्प वादीले स्मरण गरे।