गायिका टीका पुन साङ्गीतिक साँझ कार्यक्रम हुँदै
माघ १८
काठमाडौं – गायिका टीका पुनले साङ्गीतिक साँझ कार्यक्रम गर्न लागेकी छिन । हिजो मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै माघ २१ गते सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।
टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक नारायण रायमाझी , राजु परियार, लगायतका गायकहरुले साथ दिने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास दिलाए ।
‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने । गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।
कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा ईँटा थप्ने बताए । टिका पुनका गीत मान्छेको भावना, मन र आस्थासँग जोडिएको भन्दै उनले यस कार्यक्रममा सहभागी भएर भव्य र सभ्य रूपमा सफल गराउन पनि सबैसँग आह्वान गरे ।
अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाई छ ।
टीका पुन साङ्गीतिक साँझलाई एक ऐतिहासिक कार्यक्रम बनाइदिन पनि उनले सबै संगीतप्रेमी महानुभावहरुसमक्ष आग्रह गरेका छन् ।
टीका पुन एउटा युग हाँक्ने गायिका भएको उनको दाबी छ । उनले टिका पुनको आवाज राम्रो भएको भन्दै पुनलाई दुलर्भ प्रतिभाको धनी गायिकाको रुपमा चित्रण गरे ।
‘सुदूरपश्चिमदेखि सुदूरपूर्व सम्मका लोक भाका गाउने दुर्लभ मान्छे हुन् टीका पुन । नारायण रायमाझीसँग पनि गाउनुभएको छ । राजु परियारसँग पनि गाउनुभएको छ । उहाँले शम्भु राईसँग पनि गाउनुभएको छ ।
एउटा युग हाँक्ने गायिकालाई म तन, मन, धन र दिलैदेखि साथ दिन्छु,’ उनले भने ।
सो क्रममा टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य र सभ्य रुपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकी छन् ।
कार्यक्रमको सञ्चालन पत्रकार कमल सरगमले गरेका थिए । कार्यक्रममा गायिका मिना लामा, करिश्मा घर्ती, कलाकार धनराज चुनारा, खुम केसी, मानबहादुर पुन मगरलगायतको उपस्थिति रहेको थियो।