झापामा महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

भदौ २२

काठमान्डौ – झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।