नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेपछि कर्मचारी युनियनले गर्यो तालाबन्दि
असार २२ ,काठमान्डौ – नेपाल वायु सेवा निगममा कर्मचारीले तालाबन्दी गरेका छन् । निगमलाई निजी कम्पनीमा रूपान्तरण गर्ने षड्यन्त्र भएपछि तीन कर्मचारी युनियनले निगमको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव समेत पेस गरिसकेको छ ।
निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका हुन् । कर्मचारीले लगाएको ताला प्रशासनले नेपाल प्रहरी बोलाएर फुटाउन खोजेको थियो ,तर कर्मचारीले विरोध गरेपछि प्रहरीसँग झडप समेत भएको छ ।
निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो । प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।

