Gold
Bangad salyan

उत्पादनका क्षेत्रमा हुने पुँजी शेयरबजारमा हुनु साम्राज्यवादको विकसित रूप: प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको सम्मेलनलाई काठमाण्डाैबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन।

पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको दाहालले बताए ।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयलाई पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना पनि सुनाए ।

अध्यक्ष प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले–पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्राे बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए।

उहाँले नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरूमा हुने गरेकाे पनि बताए ।यसको अनुसंधान नगरे अर्थतन्त्रमा उज्यालो नआउने पनि दाहालले बताए ।

अध्यक्ष प्रचण्डले भन,‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ ।

अहिले धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंकलगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरूले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ । तर त्यस्तो होइन ।

यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादकाे विकसित रूप हाे । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने, नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकट्ठा गर्ने योजना हो ।
यसरी विश्वको पैसा सीमित पुँजीपतिहरूले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पुँजी बजार हो । पुँजी बजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्न सक्नुपर्छ ।

पुँजी बजारबाट पुँजीपतिहरूले सिधै पुँजीबाट पुँजी लिने गर्दछन् । पुँजीको लगानी उत्पादनमा हुँदैन, धितोपत्रमा र सट्टा बजारमा हुन्छ । बैंकहरूले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् ।

घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अरबौँ कमाउने गरेका छन् । अहिले विश्वभर नै शेयर बजारमा लगानी बढ्न थालेको छ ।’अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु आवश्यक भएको बताए । उनले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारामा माओवादी आएको बताए।