हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु
पर्वत – पर्वतको कुश्मा नगरपालिका-४ डम्डारेखोलामा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बागलुङ नगरपालिका-६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले हसिया प्रहार गर्दा अन्दाजी ४१ वर्षीया श्रीमती सीताको मृत्यु भएको प्रहरीले जनाएको हो।
शुक्रबार बिहान १० बजे परियारले श्रीमती सीतामाथि हसिया प्रहार गरेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ । यस घि पनि उनीहरुबीच पटक–पटक झगडा हुने गरेको र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए ।
शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।
मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।

