नक्कली भुटानी शरणार्थी प्रकरण थप १८ जना पिडितले दिए उजुरी
काठमान्डौ – नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
उनीहरूले रु १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टा छुट्टै किटानी जाहेरी दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जना व्यक्तिले जाहेरी दिएका थिए ।
कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा आफूहरूलाई भूटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाका १८ जना पीडितले जाहेरी दिएका छन् ।
उनीहरूले दिएको सक्कल जाहेरी दरखास्तलगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोमबार नै जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांश पुर्पक्षका लागि थुनामा छन् ।
शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, राज्य विरुद्धको र एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।
त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप ३ वर्ष सजाय हुनसक्छ । कैदका साथै रु २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । सो प्रकरणमा अझै केही व्याक्ती फरार रहेका छन।साउन २८

