विश्वकप छनोट क्रिकेट खेलमा टस जितेर पहिले ब्याटिङमा गर्दै नेपाल,,

रंग दर्पण २४ – फागुन काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

जिम्बाब्वेको बुल्लावायोमा टस जितेर नेपालले पहिले ब्याटिङमा जाने निर्णय गरेको छ। विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित्नै पर्नै जरुरी छ। स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन।

नेपालका लागि स्कटल्यान्ड अहिलेसम्म पराजित गर्न नसकेको प्रतिद्वन्द्वी हो। त्यसमाथि स्कटल्यान्ड जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको टोली हो। प्रतियोगितामा टेस्ट टोलीको मान्यता पाएको अफगानिस्तान र हङकङलाई पराजित गरिसकेको स्कटल्यान्ड समूह ‘बी’ को अंकतालिकामा जिम्बावेलाई समेत पछि पार्दै शीर्ष स्थानमा छ। अघिल्लो दुई खेलको नतिजाले स्कटल्यान्डका खेलाडीको मनोबल पनि उच्च देखिएको छ।

lekbesi

लगातार दुई जितका साथ सुपर सिक्स चरणको सम्भावना बलियो बनाएको स्कटल्यान्ड नेपालविरुद्धको खेलमा कुनै पनि दबाबबाट मुक्त भएर मैदानमा उत्रँदैछ।

त्यसको ठिकविपरीत नेपाल भने जित्नै पर्ने दबाबमा छ। पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको अहिलेसम्मकै ठूलो अन्तरको पराजय बेहोरेको नेपाल त्यो पराजयको ‘ह्यांग’ बाट मुक्त हुँदै स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदैछ।
त्यसैले पनि तीन पटक विश्वकप खेलिसकेको अनुभवी टोली स्कटल्यान्डलाई पराजित गर्न नेपाली टोलीलाई कुनै पनि दबाबबाट मुक्त भएर उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ।

स्कटल्यान्डविरुद्धको जितले नेपालको सुपर सिक्स चरणको सम्भावना जीवित रहनेछ। सुपर सिक्स चरणमा पुग्नु भनेको नेपाली टोलीका लागि अर्को वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकपमा छनोट हुने र एकदिवसीय टोलीको मान्यता पक्का गर्ने सम्भावना पनि जीवितै रहनु हो।

आईसीसीको नियमअनुसार प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीले सन् २०१९ को विश्वकपमा स्थान सुरक्षित गर्नेछन् भने एसोसिएट टोलीमध्ये शीर्ष तीनमा रहने (नेदरल्यान्ड्सबाहेक) टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछ।

त्यसका लागि नेपालले तत्काललाई सुपर सिक्स चरणको यात्रा पक्का गर्नु आवश्यक छ। समूह ‘ए’ र ‘बी’ का शीर्ष तीन/तीन टोलीले सुपर सिक्स चरणमा पुगेर विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यसका लागि नेपालले बिहीबारको खेलमा स्कटल्यान्डरूपी तगारो पन्छाउनु आवश्यक छ।

नेपालले स्कटल्यान्डलाई अहिलेसम्म कुनै पनि खेलमा पराजित गर्न सकेको छैन। यी दुई टोलीबीच एकदिवसीय क्रिकेटमा अहिलेसम्म भएका तीनमध्ये सबै खेलमा स्कटल्यान्ड विजयी भएको छ। यसअघि सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट खेलमै नेपाल स्कटल्यान्डसँग ९० रनको भारीअन्तरले पराजित भएको थियो।

त्यसपछि विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको दुईवटा खेलमा पनि नेपाल पराजित भएको थियो। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा तीन रनले र दोस्रो खेलमा डकवर्थ एन्ड लेविस नियमका आधारमा नौ विकेटले हारेको थियो।अन्नपुर्णपोस्ट बाट ,,