राजनीतिमा कलह : नेकपा फुट्न नसक्ने, कांग्रेस जुट्न नसक्ने

काठमाडौं ( मुलुकका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा यतिबेला आन्तरिक किचलोमा फसेका छन् । नेपाली कांग्रेस सिंगो पार्टी हो भने नेकपा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी हो । नेकपा अहिले सत्तारुढ दल हो ।
साढे दुई वर्षअघि नेकपा गठन भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलभित्र देखिएको विवादका कारण आमजनताले दुःख पाउँदै आएका छन् । पछिल्लो समय नेकपा विभाजन हुनेसम्मको चर्चा चलेको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले पार्टी फुटको अवस्थामा पुगेको नेताहरुले नै बताउन थालेका छन् । तर, राजनीतिक परिघटना हेर्दा नेकपा फुट्ने अवस्था छैन ।
किनभने यसअघि पनि नेकपा आजै फुट्यो, भोलि नै फुट्यो भन्ने हल्ला नचलेको होइन । तर, प्रधानमन्त्री केपी ओलीले यसबीचमा गरेका विभिन्न निर्णयले नेकपा विभाजन हुँदै त छैन भन्ने शंकालाई पुर्याएको छ । नयाँ पार्टीका लागि अध्यक्ष खोज्दै हिँड्नु, पार्टी विभाजनको अध्यादेश ल्याउनु, सांसदहरुको हस्ताक्षर संकलन गर्नु, फुटका लागि तयार रहन सेलसम्म सर्कुलर गर्नु, फुटको आधारका लागि नेताहरु खटाउनु, संसद बिघटन र मध्यावधिका लागि प्रयास गर्नुले ओली नेकपा विभाजनमा अग्रसर त छैनन् भन्ने देखिन्छ ।


तर, युवा नेताहरूको प्रयासका कारण नेकपा फुटिहाल्ने अवस्था नरहेको नेताहरु बताउँछन् । यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेस अहिले निद्रामा छ । ओली सरकारले गरेका गलत क्रियाकलाप र निर्णयको दह्रोसँग विरोध गर्न सकिरहेको छैन ।
यदि ओली सरकारले गरेका गलत निर्णयको कडा ढंगले विरोध गर्दै जनतासमक्ष लैजान सके कांग्रेसलाई अर्को चुनावमा निकै फाइदा पुग्ने थियो । तर सभापति शेरबहादुर देउवाले त्यसप्रति ध्यान दिएको देखिएको छैन ।
नेता रामचन्द्र पौडेल समूहले असहयोग गरेकाले पनि कांग्रेस एकढिक्का हुन सकेको छैन । जसले गर्दा कांग्रेस कहाँ छ भन्ने जनताले खोजी गर्न थालेका छन् । आमजनता कांग्रेस सशक्त ढंगले अघि बढेको हेर्न चाहन्छन् । तर, अहिलेको नेतृत्व आफ्नो समूह बलियो बनाउनमै व्यस्त देखिन्छ ।
