मुस्ताङमा हिमपात सुरु

१ मङ्सिर,जोमसोम : सोमबार बिहानैदेखि मुस्ताङको उत्तरी क्षेत्रमा यस सिजनको पहिलो हिमपात भएको छ । यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्र तथा आसपासका गाउँहरुमा समेत हिमपात भएको छ । मुस्ताङको उत्तरी क्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिउँ परेको छ । गत वर्ष उपल्लो मुस्ताङमा कात्तिक महिनाको सुरुतिरै हिउँ परेको थियो भने यस वर्ष कात्तिकको अन्तिममा हिमपात भएको छ ।

उपल्लो मुस्ताङमा हिमपात भएसँगै स्थानीयको जनजीवन कष्ठकर बनेको छ । उपल्लो मुस्ताङमा हिमपात भएपछि त्यस आसपास डाँडाकाढादेखि गाउँबस्ती समेत हिउँले सेताम्मे बनेका छन् । केही दिनअघि हिउँ नपरे पनि अत्याधिक चिसो बढेको उपल्लो मुस्ताङमा हिमपातसँगै खोलानाला, धारा र घरका सेफ्टी जमेको छ । लोमान्थाङ—४ छोसेरस्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपि ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाटले उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा बिहानैदेखि बाक्लो हिउँ पर्न सुरु गरेको जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर ,कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो र लोमान्थाङ लगायत आसपासका गाउँहरुमा हिमपात जारी रहेको बताए ।

उपल्लो मुस्ताङमा हिमपात भएसँगै तापक्रम माईनस २० डिग्रीमा झरेको स्थानीय अधिकारीले जानकारी दिए । स्थानीय पशुपालकले पालन गरेका याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई हिमपातले असर पुर्‍याएको छ । बिओपी ईञ्चार्ज रानाभाटले हिमपात २४ घण्टा समेत कायम रहेमा २ फिट बढी हिउँ पर्ने दावी गरे । यस वर्ष खेतीपातीको कामकाज सकेर घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने गरेका उपल्लो मुस्ताङीहरु कोरोनाका कारण हिमपातसँगै गाउँमा कठाङ्ग्रिएर बस्न बाध्य छन् । साथै स्थानीयहरु घर बाहिर निस्कन पनि कठिन भएको बताउँछन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट उपल्लो मुस्ताङमा जारी सिजनको पहिलो हिमपात भएको जानकारी दिए । हिमपातसँगै स्थानीयको दैनिकीमा समेत प्रतिकुल असर पुर्‍याएको अध्यक्ष बिष्टले जनाए । यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ को प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा सोमबार बिहानैदेखि हिउँ पर्न सुरु गरेको झारकोट स्वास्थ्य चौकीका अहेब सुवास अधिकारीले जानकारी दिए। अहेब अधिकारीले मुक्तिनाथ क्षेत्रमा ५ सेन्टिमिटर हिउँ परेको बताए ।

मुस्ताङको तल्लो क्षेत्र घरपझोङ गाउँपालिकाका लेकमा समेत आंशिक हिउँ परेको जनाइएको छ । तल्लो क्षेत्रमा हिउसँगै सामान्य वर्षा भएको जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए ।हिमाली जिल्ला मुस्ताङको उत्तरी क्षेत्रका जनताको स्थानीय जनजीवन कष्ठकर बने पनि हिमपातले कृषि र पर्यटन क्षेत्रमा सहयोग पुग्ने भएकाले किसान र पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । हिउँले खेतीयोग्य जमिनमा सिचाइको काम गर्ने भएको र हिमपातले सिन्चित खेतीयोग्य जमिनमा लगाएको अन्नवाली बढ्ने बताइन्छ ।