नौमुले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष को निवास मोह
फागुन २९ ,काठमान्डौ – नेपाली काङ्ग्रेसबाट निर्वाचित दैलेख नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर र उपाध्यक्ष अमृता सिंह दुवैको नौमुले बजारमा आफ्नै घर छ । तर पनि यी दुई अध्यक्ष र उपाध्यक्ष आफ्नो घरमा नबसी सरकारी बजेटबाट चर्को भाडा तिर्ने गरि अरुकै घरमा निवास लिएर बस्दै आएको तथ्य सबै सामु छर्लङ्ग छ।
अध्यक्ष भदे बुढाले आफ्नो घर गाउँपालिकालाई भाडामा दिएका छन् । हाल नौमुले गाउँपालिका रहेको हरियो घर भदे बुढाको आफ्नै घर हो । चलनचल्तीमा भन्दा महँगो घर भाडा अध्यक्षले गाउँपालिकाबाट असुल गर्दै आइरहेको कुरा नाम उल्लेख नगरिदिने शर्तमा एक कर्मचारीले रंगदर्पणलाइ बताए ।
भदे बुढाले आफ्नो घर बजारमा हुँदा हुदै पनि रमेश सुनचाँदी पसलको बिल्डिङको एउटा फ्लोरलाई गाउँपालिकाले भाडा तिर्ने गरि निवास बनाएका छन् । यो निवासमा अध्यक्ष बुढा र यिनको कान्छी श्रीमती बस्छन् । यिनको दुई श्रीमती छ्न ।
उपाध्यक्ष अमृता सिंहको पनि नौमुलेमा आफ्नै घर छ । तर उपाध्यक्ष सिंहले पनि आफ्नो घर भाडामा दिएर नन्दाराम प्याकुरेलको बिल्डिङको माथिल्लो फ्लोरलाई सरकारी बजेटबाट भाडा तिर्ने गरि निवास बनाउदै आएका छ्न । यिनको सपरिवार निवासमा नै बस्दै आएका छ्न ।
उपाध्यक्ष अमृता सिंहको श्रीमान नगेन्द्र सिंह मावि हेडमास्टर छन् र पनि उपाध्यक्षको सरकारी सेवासुविधा श्रीमान समेतले उपभोग गर्दै आइरहेका छन् । दुई वर्ष अगाडि आफ्नै विद्यालयको कर्मचारी संग घुस लिएको अभियोगमा उपाध्यक्षका श्रीमान नगेन्द्र सिंह अख्तियारको फन्दामा समेत परेका थिए ।
यसरी सेवासुविधा लिनेमा दैलेख कै पालिकाहरुको हकमा नौमुले गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष पहिलो नंम्बरमा पर्छन् । वार्षिक बीसलाख भन्दा बढी नौमुले गाउँपालिकाले घर भाडा मात्रै तिर्ने गर्छ । विषय निर्वाचित जनप्रतिनिधिहरु निवासमा बस्न पाउछन् कि पाउदैनन् भन्ने होइन ।
विषय उनिहरु बस्नको लागी गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा मै उनिहरुको घर थियो कि थिएन भन्ने हो । हाम्रा जनप्रतिनिधिहरुले ग्रामिण गाउँपालिका का गरिब निमुखा जनताको गाउँ ठाउँमा विकासको निमित्त आएको बजेटको कति सहि सदुपयोग र मितव्ययिता अपनाउछ्न भन्ने हो ।
नेताहरुको सुविधाभोकको मोहले जनताले तिरेको थोपा थोपा करबाट निर्माण गरिने बजेटको चरम दुरुपयोग हुने गरेको छ भने यसले राजनीतिलाई पुरै फोहोरी र दुर्गन्धित बनाएको छ । चुनावमा भोट माग्न जाँदा जनता सामु गरेका वाचा बिर्सेर सेवासुविधा उपभोग गर्ने र जसरी हुन्छ वैध अवैध रुपमा व्यक्तिगत सम्पत्ति थुपार्ने होडबाजी सुरु हुन्छ । राजनीतिमा गलत प्रवृत्ति स्थापित हुँदै जान्छ ।
हामी सबैले यस्ता विषयमा खबरदारी गर्दै जाने हो भने सेवासुविधाको नाममा राज्यको धन र जनताको सम्पत्तीमा मोज गर्ने ब्वाँसाहरुको अस्तित्व संकटमा पर्दै जान्छ । तबमात्र हाम्रो गाउँ हाम्रो ठाउँको विकास र परिवर्तनको निम्ति आएको बजेटको सहि सदुपयोग हुन्छ र हाम्रो गाउँ समृद्ध बन्छ ।