मोरङमा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने श्रीमान पक्राउ

असार १८ ,काठमाडौं – आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलक मल्लिक छन्।
उनले शुक्रबार राति १० बजे ३१ वर्षीय श्रीमती बबिता मल्लिकमाथि मट्टीतेल छर्केर आगो लगाएका थिए। घरायसी सामान्य विवाद भएपछि तिलकले श्रीमती बबितालाई आगो लगाएर भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीमाथि आगो लगाउँदा घर भित्रका लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घरमा विवाद हुँदा र आगो लगाउँदा अन्य व्याक्ति कोहि थिए वा थिएनन भन्ने बारे प्रहरीले घटनामाथि थप अनुसन्धान अघि बढाएको छ।
