सहकारीमा फसेको रकम उठाईदिन माग गर्दै अभिनेत्रीहरु माईतीघरमा अन्सन
साउन १६
काठमाडौं – सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् ।
सहकारी पीडितको ६१ दिनदेखि माइतीघरमा धर्ना जारी रहेको छ। सोही धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।
घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन् ।
चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ ।
साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।