क्रान्तिकारी पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा
कार्तिक १०

दाङ – नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा रहेका छन।
नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । कार्तिक २ गते उनी उक्त घटनामा प्रहरी हिरासतमै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने भएकाले नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।
