अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा तोडफोड
असार २०

सर्लाही -जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा तोडफोड गरिएको छ।
।
अध्यक्ष यादवलाई पक्राउ गर्न खटिएका प्रहरी नायब उपरीक्षक सरोज राई सवार गाडीमा तोडफोड भएको हो ।
सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई ‘कमिसन लिन आएको’ भन्ने आरोप लगाउँदै धम्की दिएपछि अध्यक्ष यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी नायब उपरीक्षक राईको नेतृत्व प्रहरी खटिएको थियो ।
बुधबार राति पूर्वाधार विकास कार्यालय, सर्लाहीको विषयलाई लिएर पूर्वप्रदेश सांसदसमेत रहेका यादवले प्रहरी उपरीक्षक खड्कालाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेका थिए ।
पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख विजय यादवले कार्य सम्पन्न विभिन्न योजनाको कमिसन लिएर मात्रै भुक्तानी गर्ने तथा प्रमुख दिउँसो कार्यालयमा नबस्ने तथा राति–राति कमिसन लिएर भुक्तानीको चेक काट्ने गरेको र त्यसका लागि प्रहरीले सुरक्षा दिइरहेको भन्दै अध्यक्ष यादवले एसपी खड्कालाई धम्क्याएका थिए ।
अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई भ्रष्टाचारीलाई सहयोग गर्न र मधेशमा लुट्न आएको भन्दै अपशब्द प्रयोग गर्दै गाली गरेको अडियोमा सुनिन्छ ।
सार्वजनिक भएको अडियोमा यादवले ‘मधेशमा लुट्न आएको’ भन्दै एसपी खड्कामाथि राति प्रहरी पठाएर कमिसन असुल्ने आरोप लगाएका छन् ।
एसपी खड्काले भने स्थानीयको फोनपछि नियमित अनुगमनका लागि टोली मात्रै पूर्वाधार कार्यालयमा पठाएको दाबी गरेका छन् ।
यता पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादवले असार मसान्त आएकाले कामको चापका कारण रातिसम्म पनि काम गर्नुपर्ने बाध्यता भएको प्रतिक्रिया दिए ।
प्रहरीले नेता यादवलाई खोजिरहेको छ । यादवमाथि प्रहरीमाथिको आक्रमण र सम्पत्ति तोडफोडसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

