प्रदेशसभा सांसदलाई डेरा पाउन मुस्किल ,,

रंग दर्पण २३ माघ –      विराटनगर : पाँचथरबाट प्रदेशसभा सदस्य निर्वाचित आशारत्न जबेगू प्रदेश १ को पहिलो प्रदेशसभा बैठकमा सोमबार सहभागी भइन्। आइतबार प्रदेशको अस्थायी मुकाम (राजधानी) विराटनगर आएकी उनको बास भने होटलमा भयो। शपथ लिएको लामो समयसम्म पनि उनले डेराको टुंगो लगाउन सकिरहेकी छैनन्।

‘होटलमा बसेर साध्य पनि हुँदैन’, उनले भनिन्, ‘अब डेरा खोज्ने तर्खरमा छु।’ विराटनगरमा आफन्त नभएकाले डेरा बस्नुको विकल्प नरहेको उनले सुनाइन्। भनिन्, ‘उपयुक्त र पायक पर्ने ठाउँमा डेरा खोजेर बस्नुपर्नेछ।’ उनले होटलमा बस्दा आफूले सांसदको परिचय नदिएको खुलाइन्। भनिन्, ‘मैले होटलमा बस्दा सांसद हुँ पनि भनिनँ। परिचयपत्र देखाएर सामान्य रुपमा बसें।’

उदयपुरकी सांसद अम्विका थापाको पनि समस्या उस्तै छ। उनले पनि विराटनगर आयल निगमनजिक रहेको नातिनीको घरमा बसेर बैठकमा सहभागी हुन आएको बताइन्। ‘सधैं आफन्तकहाँ बसिरहन पनि सम्भव हुँदैन,’ उनले भनिन्, ‘अब डेराको बन्दोबस्त मिलाउन लागेकी छु।’

संखुवासभाबाट प्रदेशसभा सदस्य निर्वाचित तुलसी न्यौपानेले इटहरीमा बसेर बैठकमा सहभागी हुन आएको बताए। ‘इटहरीमा आफन्तकहाँ बसेर बैठकमा सहभागी हुन आएँ’, उनले भने, ‘इटहरीबाट धाउन सकिने रहेनछ।’ उनका अनुसार आउँदा–जाँदा दिनको सय रुपैयाँ खर्च हुने रहेछ। भने, ‘गाडी भाडा तिर्ने खर्च डेरामा खर्चने सोच बनाएको छु।’

संखुवासभाकै सांसद पूर्णप्रसाद राई पनि डेरा खोज्न लागिपरेका छन्। उनी पनि इटहरी बसेर पहिलो बैठकमा सहभागी हुन विराटनगर आए। न्यौपाने र राईले भने, ‘सधैं त इटहरीबाट आउन गाह्रो हुने रहेछ। डेराको बन्दोबस्त मिलाएर विराटनगर नै बस्नुपर्ने भयो।’

उदयपुरकी अर्की सांसद सुनिता चौधरीले विराटनगरमा उपयुक्त डेरा नभेटेको सुनाइन्। ‘विराटनगरकै होटल एसिया टेकमा बसेर बैठकमा सहभागी हुन आएँ’, उनले भनिन्, ‘डेरा खोजे पनि भेटिरहेको छैन।’ शपथलगत्तै डेरा खोज्न लागे पनि नभेट्टाएको उनको भनाइ छ। भनिन्, ‘सधैं होटलमा बसेर साध्य पनि नहुने भयो। होटलमा भाडा पनि महँगो हुन्छ।’

उनीहरू मात्र होइन, अधिकांश प्रदेशसभा सदस्य डेराविहीन छन्। मोरङभन्दा बाहिरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद अहिले डेरा खोज्ने चक्करमा लागेका छन्। प्रत्येक बैठकमा सहभागी हुन विराटनगर धाउन सम्भव नहुने भएपछि डेरा खोज्ने चटारो रहेको मोरङका सांसद राजकुमार ओझाले बताए। उनका अनुसार पहिलो बैठकलगत्तै अधिकांश सांसद डेराको खोजीमा जुटेका छन्।

संखुवासभाकी सांसद सरिता खड्काका अनुसार विराटनगर स्थायी राजधानी हुने हो कि हैन भन्ने विषय दोधारमा रहेका कारण पनि केहीले तत्काललाई होटल र आफन्तकहाँ बसेर एक–दुईवटा बैठक भ्याउने योजना पनि बनाएका छन्। भनिन्, ‘धेरैजसो त डेरा खोजीमा जुटिसकेका छन्।’ उनी बेलबारीस्थित घरबाट बैठकमा सहभागी हुन आएकी थिइन्।

अलमलिए सांसद

प्रदेशसभाको पहिलो बैठकमा बस्ने स्थानका विषयमा सांसदहरू केही बेर अलमलमा परेका थिए। हलमा दलका लागि अलग–अलग लाइनमा कुर्सीको व्यवस्था थियो। तर, सांसदहरू आफू बस्ने ठाउँ पहिचान गर्न नसकेर अलमलमा परेका देखिन्थे। मोरङका सांसद उपेन्द्र घिमिरे माओवादी सांसद बस्ने लाइनमा गएर बसेपछि हाँसो उठेको थियो। उनी फेरि एमालेका सांसद बस्ने लाइनमा गएर बसेका थिए। घिमिरे मात्र होइन, अन्य धेरै सांसद पनि बस्ने ठाउँको व्यवस्थाका कारण अलमलमा परेका थिए।

मोरङकै सांसद राजकुमार ओझाले पहिलो अभ्यास भएकाले अलमलिएको बताए। ‘धेरै साथीहरूमा सांसदको अनुभव पनि छैन’, उनले भने, ‘त्यही भएकाले पनि अलमलमा पर्नुभएको हो।’