टोयोटा रस नेपाली बजारमा ,,

भदौ , २९ काठमान्डौ – ५० वर्षयता नेपालमा जापानमा निर्मित टोयोटा गाडी बिक्रीवितरण गर्दै आएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले साउनको पहिलो साता टोयोटा रस नेपाली बजारमा भित्र्याएको छ। नेपाली ग्राहकले जापानी उत्पादन औधी रुचाउँछन्। जापानी सामान सुरक्षित र बलियो हुने आम नेपालीको विश्वास छ। यस्तोमा टोयोटाका गाडी नेपालमा मात्र नभएर विश्वभर नै चर्चित छन्।
यसले महँगा र आकर्षक गाडी उत्पादन गर्छ। रस नेपाली बजारमा उपलब्ध टोयोटाका गाडीमध्ये इन्ट्री लेबलको पहिलो एसयूभी भएको कम्पनीका इन्जार्ज सेल्स एन्ड मार्केटिङ विवेक बलामी बताउँछन्। ‘टोयोटाको गाडीप्रति ग्राहकको अदभूत लगाब छ। पछिल्लो समय एसयूभीमा ग्राहक बढेका छन’ बलामी भन्छन्, ‘रस इन्ट्री लेबलको एसयूभी हो, यसले ग्राहकको बजेटमै आरामदायी र स्तरीय गाडी चढ्ने धोका पूरा गर्छ।’ रस विश्व बजारमा सन् २०१८ को जनवरीमा सार्वजनिक भएको थियो। विश्व बजारमा यसले राम्रो व्यापार गरेको थियो। र, नेपाली ग्राहकले पनि रस मनपराउने कम्पनी विश्वास छ।

रस चार भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ। टोयोटा रस मिड म्यानुअल ट्रान्समिसन, टोयोटा रस हाई म्यानुअल ट्रान्समिसन, टोयोटा रस मिड अटोमेटिक ट्रान्समिसन र टोयोटा रस हाई अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। यी कारका सिट क्वालिटी, डिजाइन, अगाडिको लुक, चक्काको चौडाइ र ट्रान्समिसनलगायत केही विशेषता एक अर्काभन्दा फरक छन्।

गाडीको सुरुवाती मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा २एनआर–भीई, ४सिलिन्डर इन लाइन, १६भल्व, डीओएचसी, डब्लूडब्लूटी–आई इन्जिन छ। १४९६ सीसी इन्जिन क्षमता भएको कारले ७६ किलोवाटमा ६००० आरपीएम अधिकतम शक्ति र १३४ एनएमान ४२०० आरपीएम अधिकतम टर्क उत्पादन गर्छ। ४५ लिटरको फ्युल ट्यांक भएको कारले प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। कार पेट्रोल इन्धनबाट गुड्छ। ४४३५ एमएम लम्बाइ, १६९५ एमएम चौडाइ र १७०५ एमएम उचाइ भएको कारलाई मोड्नका लागि न्यूनतम ५.२० वर्गमिटर क्षेत्रफल आवश्यक पर्छ।
२९० एमएम ग्राउन्ड क्यिरेन्स भएको कार चिल्ला सडकका साथै कच्ची सडकमा पनि बिनाकठिनाइ गुड्ने क्षमता राख्छ। ‘ग्राहकले चिल्ला सडकमा कुदाउन मात्रै कार किन्दैनन्। हिमाली, पहाडी र तराईको समथर भू–भागमा गाडी गुडाउनुपर्छ’, बलामी बताउँछन्, ‘अग्लो ग्राउन्ड क्लियरेन्स भएमा खाल्डाखुल्डीमा गाडीले जमिन छुदैन।’ यसमा नेपाली बजारमा उपलब्ध टोयोटाका अन्य कारको तुलनामा उच्च ग्राउन्ड क्लियरेन्स रहेको उनी बताउँछन्। यो नेपालको भूगोल सुहाउँदो कार हो।
