जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर ,स्वागत गर्न जनताको लहर ,,

 

पुस १४ , गौर – रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट आइपुगेका छन् । हत्या अभियाेगमा गत बैसाखदेखि कुश्वाह जेलमै रहेका थिए। जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो ।

lekbesi

शनिबार दिउसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् । काठमाडौंबाटै हेलिकप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधि सभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि बिद्यालयको चौरमा जम्मा थिए ।

दिउसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए । न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरेका छन् ।उनलाई कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरियो ।

अभिभावक विहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो । मेयर कुश्वाह निर्दोष सावित भइ जेलबाट रिहा भएको खुसियालीमा आइतबार नगरभित्रका सामुदायिक विद्यालयमा विदा नै दिइएको छ ।

नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।पर्साको वीरगञ्जमा २०६७ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो ।

उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि सिआइवीको टोलीले गत बैशाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो ।